हिमपातले किसानलाई सुविकाल, विद्यार्थीलाई संकटकाल
हिमपातले किसानलाई सुविकाल, विद्यार्थीलाई संकटकाल

धनगढी —भूकम्पले चर्किएका दुवै भवन जीर्ण छन्, खिया लागेको जस्तापाताबाट हिउँ पग्लिएको पानी तपतप खस्छ । कक्षाभित्र सहिनसक्नु चिसो छ । मंगलबार बिहान पारिलो घाम लागेकाले विद्यालयको प्रांगणमा जमेको बाक्लो हिउँमाथि ढुंगा ओछ्याइयो, ढुंगामाथि बसे कलिला बालबालिका ।
Advertisement
अघिल्तिर डोकोको आड लगाएर कालोपाटी ठड्याइयो र ७ महिने छोरीलाई छातीमा बोकेर कक्षा तीनका बालबालिकालाई पढाउन थालिन् शिक्षिका जुना धामी रावत ।
हातमा किताब समातेर पढ्न बसेका बालबालिका, पढाइरहेकी शिक्षिका र उनको छातीमा टाँसिएकी दूधे बालिका सबै चिसोले लगलग काँपिरहेका थिए । बाजुराको बुढीनन्दा नगरपालिका–९ पोरखे लेकमा रहेको सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आधारभूत विद्यालयको सचित्र विवरण यही हो । दिनमा भन्दा रात उनीहरूका लागि कष्टकर छ । किनकि यी विपन्न बालबालिकाको आवास पनि यहीं हो ।
‘आइतबार रातिदेखि पोरखे क्षेत्रमा बाक्लो हिउँ पर्यो, सोमबार र मंगलबार त्यही बाक्लो हिउँमाथि ढुंगा राखेर पढाउनुपर्ने अवस्था आयो,’ शिक्षिका रावतले भनिन्, ‘हिउँ परेको दिन त्यही आँगनमा बसालेर पढाउनुको विकल्प हुँदैन । छानाबाट चुहिने हिउँ र शीतको कठ्यांग्रिँदो चिसोमा कोठाभित्र बस्न सक्ने अवस्था छैन । हिउँसँगै झरी परेको दिन त हामी सबैलाई निकै कष्ट हुन्छ ।’
विद्यालयमा दुई वटा भवन छन् । ०६२ मा निर्मित जस्तापाताले छाएको दुईकोठे एउटा भवन र ०६७ मा बनेको जस्तापाताले नै छाएको अर्को भवन । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा पक्की भवन भने छैन । पटक पटक गएका भूकम्पका धक्काले जीर्ण रहेका दुवै भवनका भित्ता चर्केका छन् ।






