डाेल्पा कारागारबाट फरार २ जना रुकुम पश्चिमा पक्राउ

डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार २०८३ कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका ८ जना कैदीबन्दीको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन्।
कात्तिक १७ गते बिहान करिब १०:३० बजे चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरमा सवारी जाँच गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो।
खोली बगरबाट राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०८३१ नम्बरको डबल क्याप बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सोधपुछ तथा पहिचानका क्रममा दुवै जना डोल्पा कारागारबाट फरार कैदी रहेको खुलेपछि प्रहरी चौकी गोतामकोटमा राखिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। दुवै जना जबरजस्ती करणी मुद्दाका कैदी रहेको प्रहरीले जनाएको छ।

