Header Addखेलकुदप्रदेशस्थानीय तह विशेष

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित चौथो चन्द्रसूर्य गोल्ड कप सुरु

जाजरकोट । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जाजरकोटको बारेकोट गाउँपालिका–२, लिम्सामा चौथो चन्द्रसूर्य गोल्ड कप प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले गर्नुभएको हो।

चन्द्रसूर्य युवा क्लब, बारेकोट गाउँपालिका–२, लिम्साको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन समारोह निमबहादुर शाहीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी र विशिष्ट अतिथिका रूपमा वडा नं. ३ का वडाध्यक्ष रामबहादु सिंह को उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले खेलकुदले युवाहरूमा अनुशासन, एकता, सहकार्य र आपसी सद्भावको भावना विकास गर्ने बताउनुभयो। उहाँले खेलकुद स्वस्थ जीवनको आधार मात्र नभई युवाहरूको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई सकारात्मक गतिविधिमा जोड्ने र समाजमा आपसी भाइचारा कायम गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।

अध्यक्ष गिरीले स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै खेलकुद क्षेत्रको विकासका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले खेलाडीहरूलाई खेल भावना, अनुशासन र निष्पक्षतालाई आत्मसात् गर्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो।

स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने, खेल संस्कृतिको विकास गर्ने तथा गाउँपालिकामा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घोषण टबिन कार्कीले गर्नुभएको थियो भने खेलको रेफ्रीको जिम्मेवारी भक्त शाहले सम्हाल्नुभएको छ।

आयोजक चन्द्रसूर्य युवा क्लबले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, खेलप्रेमी, स्थानीयवासी तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेको छ ।
साभार themaikapost

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button