३२ करोड बढी बेरुजुमा स्थानीय तह

जाजरकोट । जिल्लाका सात वटा स्थानीय तहको बेरुजु ३२ करोड बढी देखिएको छ । महालेखापरीक्षकको ६२ औं बार्षिक प्रतिवेदन अनुसार यहाँका स्थानीय तहको बेरुजु ३२ करोड ३० लाख दुई हजार रहेको छ । आर्थिक बर्ष २०८०/०८१ मा गरिएको लेखापरीक्षणमा स्थानीयको बेरुजु बढेको देखिन्छ । जिल्लाका भित्रका पालिकाहरुमध्ये सबैभन्दा बढी बेरुजु नलगाड नगरपालिकाको देखिन्छ भने कम भेरी नगरपालिकाको रहेको छ । २ करोड ५२ लाख २ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
जस अनुसार छेडागाड नगरपालिकाको २ अर्व २० करोड ७० लाख ७९ हजारको लेखापरीक्षण गरिएकोमा चार करोड ५२ लाख ११ हजार रकम बेरुजु देखिएको छ । नलगाड नगरपालिकाको २ अर्व ५१ लाख १० हजार रुपैयाँको लेखापरीक्षण गर्दा ८ करोड ८० लाख ८१ हजार रुपैयाँ बेरुजु रहेको छ ।
जिल्लाका अरु स्थानीय तह भन्दा नलगाडको बेरुजु बढी देखिन्छ । भेरी नगरपालिकाको २ अर्व ८ करोड ६४ लाख ३५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ५२ लाख २ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै, कुशे गाउँपालिकाको १ अर्व ३८ करोड ६८ लाख ७२ हजार रुपैयाँको लेखापरीक्षण गर्दा चार करोड १२ लाख ६३ हजार बेरुजु रहेको छ ।
जुनीचाँदे गाउँपालिकाको १ अर्व ४३ करोड ९६ लाख ५४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ५७ लाख ५९ हजार बेरुजु छ । यस्तै बारेकोट गाउँपालिकाको १ अर्व ३४ करोड ७ लाख ११ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६ करोड ८६ लाख २५ हजार बेरुजु आएको छ । शिवालय गाउँपालिकाको १ अर्व १७ करोड २८ लाख ९६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ३ करोड ३५ लाख ४१ हजार बेरुजु रहेको छ ।



