प्रहरीको कुटाइबाट गम्भीर अभिभावक घाइते

काठमाडौं । सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक स्थानीयमाथि प्रहरी जवानले कुटपिट गरेको आरोप लागेको छ। धनकौल गाउँपालिका–५ हरकठवा’का फेकु दास प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्।

दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। सोही निवेदनका सम्बन्धमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो। पीडित दासका अनुसार बुधबार दिउँसो उनी श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए। त्यहाँ प्रहरीले पत्रमा हस्ताक्षर गर्न भनेको तर विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रहरी जवान रामजीवन पासवानले कार्यालयभित्रको एक कोठामा लगेर बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप उनले लगाएका छन्। कु’टपिटबाट दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई बरहथवास्थित हनुमन्त अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ।

यता, इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवानबीच वि’वाद भएको स्वीकार गर्दै सोही क्रममा कु’टपिटको घ’टना भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको बताउँदै दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हात’पात गर्न खोजेपछि विवाद भएको प्रारम्भिक जानकारी आएको बताए। उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।


