भोजपुरमा श्रीमानले गरे श्रीमतीसहित ४ जनाको हत्या

भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्र राईले ससुरालीका चार जना सदस्यको हत्या गरे। मृतकमध्ये उनकी श्रीमती पनि थिइन्, १६ वर्षीया मनिषा गिरि।
प्रहरीका अनुसार शनिबार राति बाँसको छाप्रोले बनेको घरभित्र खाटमा एकैठाउँ ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी, उनीहरूका १६ वर्षीया छोरी (मनिषा)र १० वर्षीय छोराको शव फेला परेको थियो।
करिब ९ महिनाअघि उनीहरूको प्रेम विवाह भएको थियो। तर, अन्तरजातीय प्रेम विवाह समाज र परिवारको नजरमा स्वीकार्य बनेको थिएन।
प्रहरीका अनुसार, राई भोजपुर सदरमुकाममा पेन्टरको काम गर्दै आएका थिए। त्यही बेला ३० वर्षीय राजेन्द्रको मनिषासँग प्रेम सम्बन्ध जोडिएको थियो।
परिवारले नमान्ने भएपछि उनले किशोरीलाई भगाएर लगेका थिए। ‘आमा र परिवारले त्यो विवाहलाई स्वीकारेका थिएनन्, पछिल्लो समय आमाले छोरीलाई लिएर घरमा गएकी थिइन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्।
राजेन्द्र केही दिनदेखि श्रीमती लिन ससुराली गाउँमै थिए। शनिबार जसरी भए पनि मनिषालाई लिएर फर्किने अठोटका साथ पुगेका थिए उनी। ससुराली छोरी लैजान नदिने पक्षमा थिए।
लैजाने र लैजान नदिनेबीच विवाद क्रमशः चर्कँदै गएपछि हिंसात्मक रूप लिएको थियो।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने, ‘राजेन्द्रले दिएको बयानअनुसार ससुरालीले छुरा देखाएर आक्रमण गरेपछि उनले त्यही छुरा खोसेर चारै जनाको हत्या गरेका हुन्।’
अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्- ‘उनलाई पविारले छोरी दिएनन्, त्यही विषयमा शनिबार राति पनि झगडा भएका उनले भनेका छन्। त्यसपछि सबैले मिलेर आक्रमण गरे भन्ने उसको दाबी छ।’
घरका सबै सदस्यहरूको मृत्यु भइसकेकाले यो विषय अब पुष्टि हुन कठिन देखिन्छ।
राजेन्द्र भोजपुर सदरमुकाममा डेरा गरी बस्ने निर्माण मजदुर हुन्। आर्थिक रूपमा सामान्य अवस्थाका उनी प्रेम विवाहपछि गिरि परिवारसँगको टकरावमा थिए। त्यो टकरावले यति खतरनाक रूप लिन्छ भन्ने अनुमान कसैले गरेका थिएनन्।
डीआईजी कार्कीले भने, ‘अन्तरजातीय विवाह र त्यसपछिको पारिवारिक अस्वीकृति नै हत्या जस्तो भीषण निर्णयमा पुग्ने मुख्य कारण देखिन्छ।’
हत्यापछि राईले आफैंले प्रहरी कन्ट्रोलमा फोन गरी भनेका थिए, ‘मैले मान्छे मारेँ, मलाई लिन आउनू।’ उनको पेटको तीन ठाउँमा गहिरो चोट देखिएको छ। अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरान रेफर गरिएको छ।



