पत्रपत्रिका

श्रमिक आप्रवासीले बदल्न सक्छन् नेपालको चुनावी नतिजा

आप्रवासी श्रमिकहरूलाई पहिला जस्तो पार्टी सदस्यको तमसुकले केही फरक पार्नेवाला छैन । नेपालको चुनावी नतिजा श्रमिक आप्रवासीहरूले चाहे भने बदल्न सक्छन् ।

डा. मीना पौडेल

बसाइँसराइ आफैं पनि मानवीय प्रवृत्ति हो । मान्छे एक ठाउँमा स्थिर भएर बस्न सक्दैन । सामाजिक चरित्र, सांस्कृतिक सिकाइ, राजनीतिक प्रवृत्ति, आर्थिक उपार्जनका उपायहरूको खोजी लगायतका कारण मानिस भूगोल बदलिरहन्छ । त्यसैले बसाइँसराइ आर्थिक सम्भावना र चुनौतीसँग जोडिएको एउटा सामाजिक–सांस्कृतिक प्रक्रिया हो ।

मेरो पुर्ख्यौली घर अर्घाखाँचीबाट हजुरबुवा हजुरआमा बर्मा जानुभयो र बुवा–आमा उतै जन्मिनुभयो र म पनि । अहिले बुवाआमा देवदहमा बस्नुहुन्छ म काठमाडौंमा । भाइहरू अन्तै बस्छन् भने बहिनी अष्ट्रेलिया बस्छिन् । यसरी बसाइँसराइ भइरहेको हुन्छ ।

मानिस त्यहाँ जान्छ जहाँ सजिलो लाग्छ र सम्भावना देख्छ, आफ्नो सामाजिक सम्बन्धहरू स्थापित हुन्छ। अहिले यसमा थप रूपमा राजनीतिक सम्बन्ध पनि जोडियो । राजनीतिक रूपले राज्यका सिमानाहरू तोकिएका छन् । तर मानिसको जीवनशैली, प्रवृत्ति र सभ्यतालाई हेर्ने हो भने संसार नै एउटा गाउँ हो । त्यसैले बसाइँसराइ एउटा सामान्य प्रक्रिया हो । यसप्रति न चिन्ता मान्नु आवश्यक छ न अचम्भित हुनुपर्ने नै । यसलाई कसरी व्यवस्थित गर्ने भनेर चाहिं ध्यान दिनुपर्छ ।

वैदेशिक रोजगार राजनीतिक पद्धति, आर्थिक सम्भावना र रोजगारीसँग जोडिएको विषय सँगसँगै बसाइँसराइको एउटा आयाम हो जुन आर्थिक पाटोसँग बढी सम्बन्धित छ । यद्यपि यसले सामाजिक–सांस्कृतिक र प्राविधिक पूँजीको निर्माण पनि उत्तिकै गर्छ र राजनीतिक चेतना फराकिलो पार्छ ।

१९औं शताब्दीमा गोर्खा सैनिक भर्तीदेखि आप्रवासन सुरु भएको भनिन्छ । त्यो नितान्त रोजगारको सम्भावना खोज्न जाँदा गरिएको भर्तीभन्दा पनि तत्कालीन शासकहरूले आफ्नो स्वार्थको लागि निश्चित वर्ग र समुदायका नागरिकलाई प्रयोग गरेको सन्दर्भका रूपमा बुझ्नुपर्छ । हाम्रा शासकहरूको औपनिवेशिक शासकप्रतिको गुलामी थियो त्यो ।

यद्यपि रोजगारीको समस्या सतही रूपमा सम्बोधन भयो होला तर, गुलामी चाहिं राजनीतिक थियो । औपनिवेशिक शासक आएर उनीहरूलाई लगेर गरिएको भर्ती हो । औपनिवेशिक शासकहरूले सुनियोजित तबरले आफ्नो सैन्य आवश्यकता पूर्ति गरेर सत्ता जोगाउन त्यस्तो भर्ती गरेका हुन् ।

विश्व श्रम बजारमा श्रमिकको पहुँच त खुला त गरियो तर त्यसलाई व्यवस्थित गर्नेतिर ध्यान गएन । न हिजो न अहिले, आप्रवासन भद्रगोल नै चलिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button