जनसङ्ख्या बढाउन नयाँ नीति ल्याउँदै सरकार सीपयुक्त जनशक्ति उत्पादन गर्ने, विदेश पलायन रोक्ने
युवा जनशक्तिको विदेश पलायन, बसाइँसराइ, लैंगिक असन्तुलन लगायतका कारणले जनसङ्ख्या घट्दो क्रममा गएको भन्दै विज्ञहरूले जनसङ्ख्यामा सन्तुलन कायम गर्न अहिलेको नीति नै बदल्नुपर्ने सुझाव दिएका छन्

२७ मंसिर, काठमाडौं । नेपालमा घट्दो जनसङ्ख्याले भयावह अवस्था सिर्जना हुने सरोकारवालाहरूले चेतावनी दिएका छन् ।
युवा जनशक्तिको विदेश पलायन, लैंगिक असमानता लगायतका कारणले जनसङ्ख्या घट्दो क्रममा गएकाले विज्ञहरूले जनसङ्ख्यामा सन्तुलन कायम गर्न विद्यमान नीति नै बदल्नुपर्ने सुझाव दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनसङ्ख्या नीति २०७१ ले अहिलेको समस्यालाई समाधान गर्न नसक्ने ठहर गर्दै नयाँको नीतिको गृहकार्य सुरू गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नेतृत्वमा भएको छलफलमा राष्ट्रिय योजना आयोग, विषयगत मन्त्रालय, राष्ट्रिय तथ्यांक कार्यालय लगायतका अधिकारी र विज्ञबीच छलफल र सुझाव संकलन गरिएको छ ।
मन्त्रालयले राष्ट्रिय जनसङ्ख्या नीति २०७१ परिमार्जन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय जनसङ्ख्या नीति २०८१ प्रारम्भिक मस्यौदामा छलफल सुरु गरेको हो ।
‘तत्कालीन नीति अहिलेको आवश्यकतासँग मिल्दैन’ स्वास्थ्य मन्त्रालयका उपसचिव झविन्द्रप्रसाद पाण्डेयले भने, ‘आन्तरिक र बाह्य बसाइँसराइ, शहरीकरण, विदेश पलायन जस्ता कारणले जनसङ्ख्यामा आएको असन्तुलन रोक्न नयाँ नीति आवश्यक छ ।’








