पुस १७ देखि सगरमाथामा हेलिकप्टर उडानमा रो
पुस १७ देखि सगरमाथामा हेलिकप्टर उडानमा रो

Highlights
- पदयात्रामा जान नसक्ने, व्यस्त एवं धनी नेपाली तथा विदेशी पर्यटक पनि पैदल मात्रै सगरमाथा आधारशिविर तथा आसपास जानुपर्ने
काठमाडौँ —हेलिकप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषण भएको र सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा कोर क्षेत्रमा रहेका वन्यजन्तुको बासस्थानमा असर परेको भन्दै आउँदो पुस १७ देखि व्यावसायिक हेलिकप्टर उडानलाई पूर्ण रूपमा रोक लगाइएको छ ।
Advertisement
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेले बुधबार निर्णय गर्दै नेपालमा रहेका ११ वटा हेलिकप्टर कम्पनीलाई पुस १९ (१ जनावरी २०२५) देखि त्यस क्षेत्रमा पर्यटक बोकेर व्यावसायिक चार्टर उडान नगर्न निर्देशन दिएको हो । हिमाल आरोहण सिजनमा पनि अब हेलिकप्टरमा आरोहण दलका बन्दोबस्तीका सामान लैजान पाइनेछैन ।
खुम्बु क्षेत्रको निश्चित ठाउँसम्म हेलिकप्टरले पुर्याउने सरसामान भरिया वा चौंरीबाट ओसार्नुपर्नेछ । अब हेलिकप्टरमा सगरमाथा क्षेत्रको दुईतर्फी वा एकतर्फी सयर गर्न रुचाउने धनी पर्यटकले हिँडेरै सगरमाथा आधारशिविरको पदयात्रा गर्नुपर्नेछ ।
निकुञ्जले यो निर्णय पालना गर्न एयर डाइनेस्टी, प्रभु, कैलाश, अन्नपूर्ण, माउन्टेन, अल्टिच्युड, फिस्टेल, श्री, सिम्रिक, हेली एभरेस्ट र मनाङ एयरलाई निर्देशन दिइसकेको छ । यसको अनुगमन तथा निर्णय कार्यान्वयनका लागि नेपाली सेनाको भगवतीप्रसाद गुल्म, नाम्चे र सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मेन्दल्फुलाई पत्र पठाएको छ । इलाका प्रहरी कार्यालय, नाम्चे, जिल्ला प्रशासन कार्यालय, सल्लेरी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई यो निर्णय पालना गराउन समन्वय गरीदिनसमेत भनेको छ ।
निकुञ्जले सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हेलिकप्टरहरूले अत्यधिक व्यावसायिक उडान/अवतरण गर्ने गरेको जनाएको छ । अनियन्त्रित हेलिकप्टर उडान तथा अवतरणकै कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा थप चुनौती थपिएको हेली कम्पनीलाई पठाइएको पत्रमा लेखिएको छ । ‘हेलिकप्टरको उडानबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका बस्तीहरूमा अत्यधिक ध्वनि प्रदूषणसमेत भएको छ भने अर्कोतर्फ वन्यजन्तु तथा आखेटोपहारसम्बन्धी आपराधिक गतिविधि/क्रियाकलापसमेत हुन सक्ने सम्भावना छ,’ पत्रमा लेखिएको छ ।
Advertisement
हेलिकप्टर उडानका कारण खुम्बु क्षेत्रमा रहेका स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुष्मा रानाले जनाइन् । यी समस्याबारे मंगलबार निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय र सरोकारवाला सरकारी गैरसरकारी संघसंस्थाहरूको बैठकले हेलिकप्टर उडानलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
खुम्बु क्षेत्रमा स्थानीयको उद्धार, सामान ढुवानी र पर्यटकका लागि हेलिकप्टरले काठमाडौं, रामेछाप र लुक्लाबाट चार्टर उडान गर्दै आएका छन् । यो नियम उल्लंघन गरे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ तथा प्रचलित कानुनविपरीत हुने निकुञ्जले बताएको छ । निकुञ्जले यसअघि पनि यस विषयमा हेलिकप्टर कम्पनीहरूलाई अनुमति लिएर उडान गर्न भनेको छ । तर उक्त कानुन प्रभावकारी नभएको जनाइएको छ ।







