पुरानै आपूर्तिकर्तासँग थप ७ लाख राहदानी खरिदको सम्झौता

पुरानै आपूर्तिकर्तासँग थप ७ लाख राहदानी खरिदको सम्झौता
राहदानी अभाव समाधान गर्न विभागले पुरानै आपूर्तिकर्ता फ्रान्सेली कम्पनी आइडेमियासँग थप ७ लाख राहदानी खरिद गर्ने सम्झौता गरेको छ।
नयाँ आपूर्तिकर्ताबाट राहदानी आपूर्ति सुरु नहुँदासम्मको संक्रमणकालीन अवस्था व्यवस्थापन गर्न यो निर्णय गरिएको हो।
महानिर्देशक अर्यालका अनुसार तीन साताभित्र नयाँ राहदानी आपूर्ति सुरु भई वितरण सामान्य अवस्थामा फर्किनेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
काठमाडौँ —राहदानी अभावको समस्या समाधान गर्न राहदानी विभागले पुरानै आपूर्तिकर्तासँग थप ७ लाख प्रति राहदानी खरिद गर्ने भएको छ । विभागले फ्रान्सेली कम्पनी आइडेमियासँग थप राहदानी खरिद गर्न सम्झौता गरेको हो ।
भण्डार रित्तिँदै गएपछि विभागले राहदानी वितरणमा दुई तिहाइले कटौती गरेको थियो । विभाग, जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशी नियोगबाट दिनमा ५–६ हजार प्रति राहदानी वितरण हुँदै आएकामा पछिल्लो समय त्यसलाई झारेर २ हजारभन्दा कम संख्यामा सीमित गरिएको छ । एक साताभित्र वितरण सामान्य अवस्थामा फर्किने विभागका महानिर्देशक तीर्थराज अर्यालले दाबी गरे । ‘नयाँ खरिद सम्झौताअनुसार तीन साताभित्रै आपूर्ति सुरु हुनेछ,’ उनले भने ।
विभागसँग अहिले ८१ हजार प्रति साधारण राहदानी मौज्दात छ । पहिला आपूर्ति भएकामध्ये बिग्रेको पाइएका ५५ हजार राहदानीको सट्टा नयाँ राहदानी आपूर्तिकर्ताले पठाउने भएको छ । दुवै गरेर विभागसँग १ लाख ३६ हजार राहदानी हुनेछ । यसले एक महिनाभन्दा बढीलाई धान्ने महानिर्देशक अर्यालले बताए । नयाँ खरिद सम्झौताअनुसारको राहदानी आपूर्ति सुरु हुने भएकाले अब समस्या नहुने उनले जानकारी दिए । विभागले राहदानी वितरणमा कटौती गरेर दैनिक एक हजारमा सीमित गरेकामा आइतबारबाट उक्त कोटा बढाउँदै लगिने महानिर्देशक अर्यालले बताए ।
५ वर्षलाई पुग्ने गरी ६४ लाख विद्युतीय राहदानीको खाली पुस्तिका खरिदका लागि विभागले १३ मंसिर २०८१ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राहदानी पूर्वदर्ता, तथ्यांक व्यवस्थापन एवं वितरणसहितको राहदानी प्रणालीलाई ‘प्याकेज १’ र वैयक्तीकरण, गुणस्तर नियन्त्रण तथा प्याकिङसहितको राहदानी पुस्तिकालाई ‘प्याकेज २’ बनाएर अलग–अलग बोलपत्र आह्वान गरिएको थियो ।

